पाँचौं अध्याय- तपाईको दान

दानका उद्देश्यहरु

अल्लाहले महान उद्देश्यहरुलाई सार्थकता दिनको लागि मुस्लिमहरुमाथि दान अनिवार्य गर्नु भएको छ। तीमध्ये केही निम्न छन्-

  1. १) धन-सम्पत्तिको चाहना र माया मानिसको लागि स्वभाविक कुरा हो। यसलाई जोगाउन र राखि राख्न मानिसले कति प्रयत्न गर्दछ। त्यही लोभ, कन्जुस्याइँ र मालको मायाजालबाट पवित्र पार्न इस्लामले दानलाई अनिवार्य गरेको छ। अल्लाहले भन्नु भएको छ… “हे सन्देष्टा ! तिनीहरुको धन-सम्पत्तिबाट दान लिदै गर र यसद्वारा तिनीहरुलाई शुद्धता र पवित्रता प्रदान गर।” (श्रोत- सूरह अत्-तौबा : ९/१०३)
  2. २) दानले आपसी मेलमिलाप, माया र स्नेहको भावना उत्पन्न हुन्छ। किनभने मानिसले परोपकारीसित सदभाव देखाउँछ र माया गर्छ। त्यसैले मुस्लिम समाजका हरेक व्यक्ति एउटा बलियो पर्खाल जस्तै आपसमा मिलेर बसेको हुन्छ। यसरी चोरी, डकैती र लुटपाटका घटनाहरु निकै कम हुन्छन्।
  3. ३) दानले उपासना, अल्लाहप्रति पूर्ण समर्पण र असल मुस्लिमको भूमिका निर्वाह हुन्छ। जुन बेला एउटा धनीले जकात निकाल्छ, उसले अल्लाहको हुकुमलाई कार्यान्वयन गर्छ। यसरी आफ्नो मालिक र दाताको कृतज्ञता ज्ञापन हुन्छ। अल्लाहले भन्नु भएको छ… “यदि तिमीहरु आभार व्यक्त गर्छौ भने म तिमीहरुलाई अझ बढी कृपापात्र बनाउने छु।” (श्रोत- सूरह इब्राहीम : १४/७)
  4. ४) दानले समाजमा रहेका व्यक्तिहरु बीच सामाजिक संरक्षण र सन्तुलनको भावना सुदृढ हुन्छ। दान दिएपछि धन-सम्पत्ति धनवानहरुको मुठ्ठीमा मात्र सीमित रहदैन, बरु गरीबहरुले पनि फाइदा प्राप्त गर्दछन्। अल्लाहले भन्नु भएको छ… “धन-सम्पत्ति केवल धनवानहरुको हातमा नघुमि रहोस्।” (श्रोत- सूरह अल्-हश्र : ५९/७)

धन-सम्पत्तिको माया मानविय स्वभाव हो, त्यसैबाट मनलाई शुद्ध पार्न इस्लामले दान अनिवार्य गरेको छ। .

कुन धन-सम्पत्तिमा दान अनिवार्य छ?

व्यक्तिगत प्रयोगमा आउने चीजबीज र सरसामानहरूमा दान (जकात) अनिवार्य छैन, जस्तै… घर चाहे जतिसुकै महँगो होस्, गाडी चाहे जतिसुकै विलासी होस्। त्यस्तै लुगाफाटा र खानपिनमा जकात  अनिवार्य छैन।

अल्लाहले व्यक्तिगत प्रयोगमा नआउने तथा व्यवसाय र वृद्धिको उद्देश्यले राखिएका मालसामानहरूमा मात्र दान अनिवार्य गर्नु भएको छ। यी यस प्रकार छन्…

  1. १) सुन र चाँदी (लुगामा र गहनाको रुपमा प्रयोग नगरिएका)-

सुन र चाँदी जबसम्म इस्लामले तोकेको निसाब (परिमाण) बराबर हुँदैन र त्यसमाथि चन्द्रमाको हिसाबले एक वर्ष (३५४ दिन) बित्दैन, तबसम्म त्यसमा जकात छैन।

सुन र चाँदीको निसाब (परिमाण)-

सुन ८५ ग्राम तथा चाँदी ५९५ ग्राम भएमा।

यदि कुनै मुस्लिमसँग उल्लेखित मात्रामा सुन वा चाँदी छ र एक वर्ष (३५४ दिन) बितिसकेको छ भने २,५% को दरले जकात निकाल्नु पर्छ।

  1. २) धन-सम्पत्ति र नगदी जिन्सी चाहे त्यो घरमा होस् वा बैंकमा-

यसको जकात निकाल्ने तरिका- यसलाई सुनको हिसाबले निकाल्नु पर्दछ, यदि सुनको मात्रा ८५ ग्राम वा त्यो भन्दा बढी रकम छ र चन्द्रमाको हिसाबले एक वर्ष बितिसकेको छ भने २,५% को दरले आफूसँग भएको सम्पूर्ण धन-सम्पत्तिबाट दान निकाल्नु पर्छ।

उदाहरण- सुनको भाव घटबढ् भइ रहन्छ, त्यसैले जकात अनिवार्य भएको बेला यदि एक ग्राम सुनको मूल्य २५ डलर छ भने जकातको निसाब (परिमाण) यस प्रकार हुनेछ…

२५ x ८५ = २,१२५ डलर धन-सम्पत्ति तथा नगदी जिन्सी को निसाब (परिमाण) ठहर्छ।

  1. ३) व्यवसायिक वस्तुहरु-

व्यवसाय र बेच्नका लागि राखिएका वस्तुहरु, जस्तै…  घर, जग्गा, जमीन, पसल, खाने चीजबीज इत्यादि।

यसको जकात निकाल्ने तरिका- एक वर्ष विति सकेपछि सम्पूर्ण व्यवसयिक सामग्रीहरुलाई चालु वर्षको दरले मूल्यांकन गर्नु पर्दछ। यदि ८५ ग्राम सुन बराबर वा त्यो भन्दा बढी रकम छ भने २,५% को दरले आफूसँग भएको सम्पूर्ण सम्पत्तिबाट दान निकाल्नु पर्छ।

  1. ४) भूमिबाट उत्पादित अन्न तथा फलफूलहरु-

अल्लाहले भन्नु भएको छ… “हे आस्थावानहरु हो ! तिमीहरूले आर्जन गरेका र हामीले तिमीहरुका निम्ति भूमिबाट उत्पादित गरेका वस्तुहरूमध्ये उत्तम वस्तुहरू खर्च गर।” (श्रोत- सूरह अल्-बकरह : २/२६७)

भूमिबाट उत्पादित केही पैदावारहरु एउटा सीमित मात्रामा उब्जेको छ भने त्यसमा जकात छ, सबैमा छैन।

त्यसैगरी वर्षाको पानीले वा सिँचाईद्वारा उत्पादित भएको वस्तुहरुमा मानिसहरुको अवस्था अनुसार जकात निकाल्दा परिमाणमा फरक गरिएको छ।

  1. ५- पशु धन- जस्तै… बाहिर चर्ने भेडा, बाख्रा, गाई र ऊँट। यदि मालिकले त्यसको चाराको व्यवस्था गर्नु पर्दैन भने त्यसमा खास संख्यामा जकात निकाल्नु पर्छ।

यदि सालभरी वा सालका अधिकांश भागमा दाना र चारा मालिकले नै किनेर खुवाउनु पर्छ भने त्यसमा जकात अनिवार्य छैन।

यसको परिमाण र तरिकाको विस्तृत जानकारीको लागि इस्लामि शास्त्र अध्ययन गर्न र धर्मगुरुहरुसित सम्पर्क गर्न अनुरोध गरिन्छ।

दान कसलाई दिने?

जकातको रकम कुन क्षेत्रमा र कसरी खर्च गर्नु पर्दछ भन्ने कुरालाई इस्लामले हदबन्दी गरेको छ। एक हकदार वा अधिक हकदारहरुलाइ दिन सक्छ। त्यसैगरी दानको रकम मुस्लिम हकदारसम्म पुर्याउने संघ-संस्थाहरुलाई दिनु जायज छ। आफ्नै गाउँमा रहेका हकदारहरुलाई दान दिनु बेस हुन्छ।

दानका हकदार व्यक्तिहरु निम्न हुन्-

  1. १) गरीब र दीन-दु:खीहरु, जसलाई दुई छाक टार्न र दुई सरो लाउन धौ-धौ परेका हुन्छन्।
  2. २) दान असुल्ने र वितरण गर्ने व्यक्तिहरु।
  3. ३) दास, जो आफूलाई मालिकबाट स्वतन्त्र हुन चाहन्छ, त्यसलाई स्वतन्त्र पार्न दानको रकम दिनु जायज छ।
  4. ४) ऋणी, जो ऋणको बोझले दबेको छ र त्यसलाई चुक्ता गर्न सकिरहेको छैन, यद्यपि सर्वसाधारणको लागि ऋण लिएको होस् वा निजी कामको लागि।
  5. ५) अल्लाहको बाटोमा युद्ध गर्ने (मुजाहिद) हरु, जो आफ्नो धर्म र देशको लागि लडिरहेका हुन्छन्। इस्लामको आह्वानमा सक्रिय धर्मगुरु यसै अन्तर्गत पर्दछन्।
  6. ६) नयाँ मुस्लिमहरुको सान्त्वना वा जुन गैर-मुस्लिमको इस्लाममा आउने आशा हुन्छ, उनीहरुलाई दान दिन सकिन्छ, तर यो मुस्लिमको जिम्मेवार हाकिम र दातृ संघ-संस्थाले आवश्यकता अनुसार गर्ने काम हो।
  7. ७) यात्री, पैसा सिद्धिएको बटुवाहरुको बाटो खर्च जुटाउन दानको रकम खर्च गर्न सकिन्छ, चाहे त्यो आफ्नो मुलुकमा धनवान किन नहोस्।

जकातका हकदार व्यक्तिहरुको वर्णन गर्दै अल्लाहले भन्नु भएको छ… “वास्तवमा जकात (दान) केवल दरिद्रहरु, दीन-दु:खीहरु, दान असुल्ने व्यक्तिहरु, तालिफे कल्ब (हृदयलाई जोड्न), दासहरुको मुक्ति, ऋणीहरुको ऋण भुक्तानी, अल्लाहको बाटोमा खर्च गर्न र यात्रुलाई दिनको लागि हो।” (श्रोत- सूरह अत्-तौबा : ९/६०)