इस्लाममा आचरणको स्थान

  1. १- आचरणको निर्माणकै लागि मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) लाई पठाईएको थियो

अल्लाहले भन्नु भएको छ… “उहाँले नै अनपढहरुमा उनीहरुमध्येबाट एउटा रसूल पठाउनु भयो, जसले उनीहरुलाई कुरआन पढेर सुनाउनु हुन्छ र शुद्धिकरण गर्नुहुन्छ।” (श्रोत- सूरह अल्-जुमुआ : ६२/२) अल्लाहले आफ्नो रसूललाई पठाएर मानवमाथि ठूलो उपकार गर्नु भएको छ, किनकि उहाँद्वारा नै मानिसहरुको शुद्धिकरण भयो। उहाँले मनिसहरुलाई शिर्क, इर्ष्या र नराम्रो स्वभावबाट पवित्र पार्नु भयो। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले आफ्नो उद्देश्यलाई प्रष्ट पार्दै भन्नु भएको छ… “उच्च आचरणकै शिक्षा दिनको लागि मलाई पठाईएको छ।” (श्रोत- बैहिकी : २१३०१) उहाँको प्रमुख उद्देश्य नै व्यक्ति र समाजलाई उच्च आचरणको शिक्षा प्रदान गर्नु हो।

  1. २-  आचरण, आस्था र विश्वासको अभिन्न अङ्ग हो-

आचरणको निर्माणकै लागि मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) लाई पठाईएको थियो। .

जुन बेला रसूल (सल्लल्लाहु अलैहि व सल्लम) सित सोधियो… आस्थावानहरुमध्ये कुन आस्थावान उत्कृष्ट हो ? उहाँले जवाफ दिनु भयो… “असल आचरणले भरिपूर्ण आस्थावान।” (श्रोत- तिर्मिजी : ११६२, अबु-दाऊद : ४६८२)

अल्लाहले आस्थालाई पुण्य घोषित गर्दै भन्नु भएको छ… “पूर्व वा पश्चिमतिर मुख फर्काउनु पुण्य होइन, तर अल्लाह, कयामतको दिन, ग्रन्थ, फरिश्ता र सम्पूर्ण रसूलहरुमाथि विश्वास गर्नु नै ठूलो सत्कर्म हो।” (श्रोत- सूरह अल्-बकरह : २/१७७) पुण्यले हरेक किसिमको आचरण र बचनका सम्पूर्ण क्रियाकलापहरूलाई समेटेको छ। त्यसैले रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “असल आचरण नै पुण्य हो।” (श्रोत- मुस्लिम : २५५३)

यो कुरा रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को भनाईबाट अझ प्रष्ट हुन्छ, उहाँले भन्नु भएको छ… “आस्थाका साठी भन्दा अधिक शाखाहरु छन्; 'ला इलाहा इल्लल्लाह' को घोषणा गर्नु सबभन्दा उत्तम र 'सार्वजनिक बाटोबाट काँडा हटाउनु' सबभन्दा तल्लो शाखा हो। त्यसैगरी लाज आस्थाको एउटा शाखा हो।” (श्रोत- मुस्लिम : ३५)

  1. ३- आचरण, सम्पूर्ण उपासनासँग गाँसिएको छ-

अल्लाहले जब कुनै उपासनाको आदेश दिनुहुन्छ तब उहाँले व्यक्ति र समाजमाथि पर्न गएको त्यसको राम्रो प्रभावलाई पनि औंल्याउनु हुन्छ, यसका केही उदाहरणहरु यस प्रकार छन्…

सलाह- “सलाह कायम गर, किनभने यसले अश्लीलता र कुकर्मबाट बचाउँछ।” (श्रोत- सूरह अल्-अन्कबूत : २९/४५)

जकात- “हे सन्देष्टा ! उनीहरुको धन-सम्पत्तिबाट दान लिदै गर र यसैद्वारा तिनीहरुलाई शुद्धता र पवित्रता प्रदान गर।” (श्रोत- सूरह अत्-तौबा : ९/१०३) दानले जसरी गरीबहरुको सहानुभूति र उद्धार  हुन्छ, त्यसरी नै धनवानहरुको शुद्धिकरण हुन्छ।

ब्रत- “तिमीहरुमाथि ब्रत अनिवार्य गरिएको छ, जसरी तिमीहरु भन्दा अघिका मानिसहरुमाथि अनिवार्य गरिएको थियो। यसबाट तिमीहरुमा तक्वा (ईश्-भय) उत्पन्न हुनेछ।” (श्रोत- सूरह अल्-बकरह : २/१८३) अत: मन भित्र अल्लाहको भय उत्पन्न गर्नु नै ब्रतको प्रमुख उद्देश्य हो। त्यसैले रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “जुन व्यक्ति झूठो बोल्न र कुकर्म गर्न छोड्दैन, उसले ब्रत बस्नुको कुनै औचित्य छैन।” (श्रोत- बुखारी : १८०४) तसर्थ ब्रतबाट मानिसको आचरणमा केही प्रभाव परेन भने फेरी ब्रतको के औचित्य ?

  1. ४- अल्लाहले असल आचरणको लागि अत्याधिक प्रतिफल तयार पार्नु भएको छ-

कुरआन र हदीसमा यसका धेरै प्रमाणहरु छन्, तीमध्ये केही यस प्रकार छन्…

रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “तराजुमा असल आचरण भन्दा बढी भारी अरु कुनै सत्कर्म हुने छैन। असल आचरण भएको व्यक्ति ब्रत बस्ने र सलाह पढ्ने व्यक्तिको दर्जामा पुग्नेछ।” (श्रोत- तिर्मिजी : २००३)

रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “स्वर्गमा बढी प्रवेश गराउने कर्महरुमध्ये अल्लाहको भय र असल आचरण हुनेछ।” (श्रोत- तिर्मिजी : २००४,  इब्ने माजा : ४२४६)

रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “तिमीहरूमध्ये जसको आचरण जति राम्रो हुन्छ,  कयामतको दिन ऊ मदेखि त्यत्तिकै नजिक हुनेछ।” (श्रोत- तिर्मिजी : २०१८)

रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “म जमानत दिन्छु, जुन व्यक्तिले सत्य भएर पनि प्रतिवादीसँग लडाई झगडा गरेनन् भने उसको लागि स्वर्गको सामान्य स्थान हो, जुन व्यक्तिले ख्याल-ठट्टामा पनि झूठो कुरा गरेनन् भने उसको लागि स्वर्गको बीचको भाग हो र असल आचरण भएको व्यक्तिको लागि स्वर्गको उच्च स्थान हुनेछ।” (श्रोत- अबु-दाऊद : ४८००)

इस्लाममा आचरणका विशेषताहरु

इस्लाममा असल आचरणले जुन विशेषता र गुणहरु ओगटेको छ, त्यो अन्य धर्महरुमा बिरलै पाइन्छ, तीमध्ये केही यस प्रकार छन्…

  1. १- असल आचरण कुनै विशेष व्यक्तिमा सीमित छैन-

अल्लाहले नै मनिसहरुलाई विभिन्न रुप, रङ्ग र अनगिन्ती भाषाहरु दिएर सृष्टि गर्नु भएको छ। अल्लाहको दृष्टिमा न कोही ठूलो छ, न कोही सानो नै, सबै समान छन्। जसको आस्था र स्वभाव उच्च कोटिको हुन्छ, ऊ नै अल्लाहको नजरमा महान र प्रतिष्ठित हुन्छ। अल्लाहले भन्नु भएको छ… “हे मानव ! हामीले तिमीहरुलाई एक पुरुष र एक स्त्रीबाट सृष्टि गर्यौं र तिमीहरुका विभिन्न जाति-बंश बनायौं,  ताकि तिमीहरु एक अर्कालाई चिन्न सकौ। वास्तवमा अल्लाहको नजरमा सर्वाधिक प्रतिष्ठित व्यक्ति त्यो हो, जो तिमीहरुमध्ये सबैभन्दा धेरै ईश-भय राख्छ।” (श्रोत- सूरह अल्-हुजरात : ४९/१३)

असल आचरण नै मुस्लिमको पहिचान हो। इस्लाममा धनी-गरीब, ठूलो-सानो, गोरो-कालो र अरबी-गैर-अरबी बीच कुनै भेदभाव, छुवाछुत र घृणा हुँदैन।

गैर-मुस्लिमसितको व्यवहार-

अल्लाहले हामीहरुलाई मुस्लिम, गैर-मुस्लिम, परिचित, अपरिचित मानिस, जनावर  तथा सम्पूर्ण प्राणीहरुसँग भद्र व्यवहार र परोपकार गर्ने आदेश दिनु भएको छ, किनभने मुस्लिमको असल आचरणले नै गैर-मुस्लिमहरु इस्लामतिर लम्की रहेका छन्।

अल्लाहले भन्नु भएको छ… “जसले तिमीहरूसित धर्मको मामिलामा युद्ध गरेनन् र तिमीहरुलाई घरबाट निस्कासन गरेनन्, त्यस्ता व्यक्तिहरुसित भद्र व्यवहार र न्याय गर। अल्लाह न्याय गर्नेहरुलाई मन पराउनु हुन्छ।” (श्रोत- सूरह अल्-मुम्तहिना : ६०/८)

अल्लाहले गैर-मुस्लिमको मित्रता, उनीहरुको कुफ्र र शिर्कको आस्थासित प्रेम गर्नुबाट मनाही गर्नु भएको छ। अल्लाहले भन्नु भएको छ… “अल्लाहले त यस्ता व्यक्तिहरूसित मित्रता गर्न रोक्नु हुन्छ, जसले तिमीहरुसँग धर्मको लागि युद्ध गरे, तिमीहरुलाई तिमीहरुको घर दैलोबाट निस्कासन गरे र तिमीहरुको निष्कासन कार्यमा शत्रुको सहयोग गरे। तिनीहरुसित मित्रता गाँस्ने व्यक्तिहरु नै अत्याचारी हुन्।” (श्रोत- सूरह अल्-मुम्तहिना : ६०/९)

  1. २- असल आचरण मात्र मानिससित सीमित छैन

जनावरसितको व्यवहार-

इस्लामले असल आचरण मानिससित मात्र सीमित नराखी जनावरप्रति देखाउन आदेश दिएको छ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले बिरालो मार्नेलाई नरकको चेतावनी र कुकुरसित असल व्यवहार गर्नेलाई स्वर्गको शुभ सुचना दिनु भएको थियो। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “एउटी महिला बिरालोप्रति गरेको नराम्रो व्यवहारले गर्दा नरकमा गइन्। ती महिलाले बिरालोलाई बाँधेर राखिन्, न त त्यसलाई खानेकुरा दिइन्, न त स्वतन्त्र गरिन्।” (श्रोत- बुखारी : ३१४०, मुस्लिम : २६१९)  

रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “एउटा यात्रीलाई बाटोमा हिंडिरहेको बेला धेरै तिर्खा लाग्यो। उसले बल्ल एउटा कुँवा भेटायो र तल झरेर आफ्नो तिर्खा मेटायो। बाहिर निस्कने बित्तिकै तिर्खाले माटो खाइरहेको एउटा कुकुरलाई देख्यो र मनमा सोच्न थाल्यो… सायद, यो कुकुरलाई पनि मलाई जस्तै बेस्सरी तिर्खा लागेको होला। ऊ पुनः कुँवामा झर्यो र छालाको मोजामा पानी भरी त्यसलाई मुखमा च्यापेर बल्ल तल्ल बाहिर ल्याएर कुकुरलाई पिलायो र अल्लाहको कृतज्ञता व्यक्त गर्यो र अल्लाहले उसका सम्पूर्ण पापहरुलाई पखालि दिनु भयो। सहाबीहरुले सोधे… के जनावरहरुप्रति गरिएका सद-व्यवहारमा पनि पुण्य पाइन्छ र ? उहाँले जवाफ दिनु भयो… “प्रत्येक प्राणीहरुप्रति असल व्यवहारमा पुण्य पाइन्छ।” (श्रोत- बुखारी : ५६६३, मुस्लिम : २२४४)  

पर्यावरणलाई सुरक्षित राख्नमा आचरणको भूमिका-

इस्लामले हामीलाई भूमि निर्माण एवम् विकास कार्य गर्न, वृक्ष रोपण र सभ्यता निर्माण गर्न आदेश दिएको छ। तर सम्पूर्ण मानव, जनावर, वनस्पति, वातावरण तथा पर्यावरणलाई विनाश नगरिकन नै उक्त विकासका कार्य गर्नु पर्दछ, किनभने अल्लाहले आतंक मच्चाउनु वा वातावरणलाई विनाश गर्नुलाई कदापि मन पराउनु हुन्न। अल्लाहले भन्नु भएको छ… “अल्लाह दंगा-फसाद र आतंकलाई कदापि मन पराउनु हुन्न।” (श्रोत- सूरह अल्-बकरह : २/२०५)

यहाँसम्म कि रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले कठिन परिस्थितिमा पनि भूमि निर्माणमा सक्रिय रहने आदेश दिनु भएको छ… “बोट बिरुवा तथा बीउ रोपण गर्दा-गर्दै कयामत (महाप्रलय) भयो भने पनि सकेसम्म वृक्ष रोपण गर्नु पर्दछ, ताकि यो उसको लागि पुण्य साबित होस्।” (श्रोत- अहमद : १२९८१)

  1. ३- जीवनका सम्पूर्ण क्षेत्रहरुमा असल आचरण-

घरपरिवार-

इस्लामले परिवारका सम्पूर्ण सदस्यहरुसँग भद्र व्यवहार गर्न प्रेरणा दिएको छ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भयो… “तिमीहरुमध्ये प्रतिष्ठित व्यक्ति ऊ हो, जो आफ्नो घरपरिवारसँग भद्र व्यवहार गर्दछ र म पनि आफ्नो घरपरिवारसित भद्र व्यवहार गर्दछु।” (श्रोत- तिर्मिजी : ३८९५)

व्यापार–

कहिले काही उद्योगपति र व्यापारीहरु धन-सम्पत्तिको लोभमा अवैध र अनैतिक काम पनि गर्छन्। त्यसलाई रोक्नको लागि इस्लामले असल आचरणका केही सिद्धान्तहरु लागू गरेको छ…

व्यवसाय-

इस्लामले उद्योगपति तथा व्यवसायीहरुलाई व्यवहारिक र गुणस्तर कामको प्रेरणा दिन्छ, जस्तै…

  1. ४- असल आचरण सम्पूर्ण अवस्थाहरुमा-

इस्लामले कठिन परिस्थितिमा पनि असल आचरण र उच्च व्यवहारसँग सम्झौता नगरी त्यसैमा अडिग रहन आदेश दिएको छ। यहाँसम्म कि युद्धको मैदान र द्वन्द्वको बेलामा पनि असल आचरणलाई नै प्राथमिकता दिन आदेश दिएको छ, किनकि कुनै पनि उद्देश्य वा स्वार्थको लागि अवैध साधन कदापि प्रयोग गर्नु हुँदैन। 

त्यसैले इस्लामले असल आचरणका यस्ता नियम र सिद्धान्तहरु पारित गरेको छ, जसले मुस्लिमहरुको क्रियाकलापलाई युद्धको बेलामा पनि अनुशासित गरेको छ। मानिसको रिस, घृणा, डाह, कठोरता र मनमानी गर्ने कुनै ठाउँ नै छैन।

युद्ध सम्बन्धी इस्लामको आचरण-

  1. १- शत्रुसँग न्याय-निसाफ गर्न र अत्याचार नगर्न आदेश- अल्लाहले भन्नु भएको छ… “कुनै समुदायको शत्रुताले कसैमाथि अन्याय होइन निसाफ गर, यो नै इश-भय हो।” (श्रोत- सूरह अल्-माइदा : ५/८) शत्रुताको क्रोधमा मातेर कुनै समुदायमाथि कदापि अन्याय गर्नु हुँदैन, बरु कठिन परिस्थितिमा पनि आफ्नो र बिरानो सबैसँग न्यायपूर्वक व्यवहार गर्नु पर्दछ।  
  2. २- शत्रुसँग धोका र विश्वासघात नगर्न आदेश- किनभने अल्लाहले शत्रुसँग पनि विश्वासघात र धोकालाई अवैध गर्नु भएको छ। अल्लाहले भन्नु भएको छ… “निश्चय नै अल्लाहले विश्वासघातीहरुलाई कदापि मन पराउनु हुन्न।” (श्रोत- सूरह अल्-अन्फाल : ८/५८)
  3. ३- लाशलाई अङ्गभङ्ग र विरूप नगर्न आदेश- इस्लामले लाशलाई अङ्गभङ्ग र विरूप नगर्न आदेश दिएको छ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “लाशलाई छिन्न-भिन्न र विरूप नगर।” (श्रोत- मुस्लिम : १७३१)
  4. ४- युद्धमा सरोकार नराख्ने सर्वसाधारण व्यक्तिलाई हत्या र पर्यावरणलाई बर्बाद नगर्न आदेश- मुस्लिमहरुको खलीफा (उत्तराधिकारी) र सर्वप्रतिष्ठित सहाबी अबु-बकर सिद्दीक (रजियल्लाहु अन्हु) ले जैद पुत्र ओसामालाई युद्धको लागि सिरियातर्फ पठाउदा, यसरी उपदेश दिनु भयो… “बाल-बालिका, वृद्ध-वृद्धा तथा महिलाहरुलाई कदापि हत्या नगर्नु, खजुर तथा फलदार वृक्षलाई कदापि बर्बाद नगर्नु, भेंडाबाख्रा, गाई तथा ऊँटलाई बदलाको भावनाले नमार्नु। अँ, खानको लागि जबह गर्न सकिन्छ। गिर्जा, गुम्बा र त्यसमा उपासनाको लागि समर्पित भएका व्यक्तिहरुलाई केही हानि नपुर्याउनु।” (श्रोत- इब्ने-असाकिर : २/५०)