अल्लाहका नाम र विशेषताहरुमाथि आस्था राख्नु

अल्लाहले आफ्नो लागि जुन नाम र विशेषताहरु कुरआन वा हदीसमा प्रमाणित गर्नु भएको छ, ती कुराहरुमाथि जस्ताको तस्तै आस्था राख्नु।

अल्लाहकै लागि राम्रा नाम र परिपूर्ण विशेषताहरु छन्। उहाँ जस्तो नाम र विशेषता अरु कसैको हुनै सक्दैन। अल्लाहले भन्नु भएको छ… “उहाँ जस्तो अरु कोही छैन, उहाँ सर्वश्रोता र सर्वद्रष्टा हुन्।” (श्रोत- सूरह अश्-शूरा : ४२/११) अल्लाह आफ्नो नाम र विशेषताहरुमा सम्पूर्ण सृष्टिको समानताबाट पवित्र र महान हुन्।

अल्लाहका केही नामहरु-

अल्लाहले भन्नु भएको छ… “उहाँ अत्यन्त करुणामय र परम दयालु हुन्।” (श्रोत- सूरह फातिहा : १/३)

अल्लाहले भन्नु भएको छ… “उहाँ सर्वश्रोता र सर्वद्रष्टा हुन्।” (श्रोत- सूरह अश्-शूरा : ४२/११)

अल्लाहले भन्नु भएको छ… “उहाँ प्रभुत्वशाली र तत्वदर्शी हुन्।” (श्रोत-सूरह लुक्मान : ३१/९)

अल्लाहले भन्नु भएको छ… “उहाँ जीवित र आत्मनिर्भर हुन्।” (श्रोत- सूरह अल्-बकरह : २/२५५)

अल्लाहले भन्नु भएको छ… “सम्पूर्ण प्रकारका प्रशंसाहरु अल्लाहकै निम्ति छन् जो सम्पूर्ण जगतका पालनकर्ता हुन्।” (श्रोत- सूरह फातिहा : १/२)

अल्लाहका नाम र विशेषताहरुमाथि आस्थाका केही फाइदाहरु-

  1. १) अल्लाहको ज्ञान, जसले अल्लाहका नाम र विशेषताहरुमाथि जति विश्वास गर्छ, अल्लाहको बारेमा उसको ज्ञानमा त्यत्ति नै वृद्धि हुन्छ, ईमान र आस्था बलियो हुन्छ, मुटुभरि उहाँकै लागि माया र आदर हुन्छ।

  2. २) अल्लाहका नाम र विशेषताद्वारा उहाँको प्रशंसा गर्नु, उहाँको प्रशंसा गर्ने सबैभन्दा उत्तम तरिका यही नै हो। अल्लाहले भन्नु भएको छ… “हे आस्थावानहरु हो ! अल्लाहलाई अत्याधिक स्मरण (प्रशंसा) गर।” (श्रोत- सूरह अल्-अह्जाब : ३३/ ४१)

  3. ३) अल्लाहका नाम र  विशेषताहरुद्वारा प्रार्थना गर्नु, अल्लाहले भन्नु भएको छ… “अल्लाहका राम्रा नामहरु छन् र उहाँलाई उहाँकै नामबाट पुकार्ने गर।” (श्रोत- सूरह अल्-आराफ :७/१८०) जस्तै– हे अन्नदाता ! हामीलाई रोजी देऊ, हे प्रायश्चित स्वीकार्नेवाला ! मेरो प्रायश्चितलाई स्वीकार गरि देऊ, हे करुणामय ! ममाथि कृपा गरि देऊ आदि।  

ईमानका उच्च श्रेणीहरु-

ईमानका श्रेणीहरु छन्। मुस्लिमको ईमान सुस्ती र पाप अनुसार कम हुन्छ र अल्लाहको ईबादत, भय र पुण्य अनुसार बढ्दछ।  

ईमानको सर्वोच्च श्रेणीलाई एहसान (परोपकार) भनिन्छ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले यसको परिभाषा यसरी दिनु भएको छ… “अल्लाहको उपासना यसरी गर कि तिमी अल्लाहलाई हेरिरहेका छौ, यदि तिमीले हेरिरहेका छैनौ भने अल्लाहले तिमीलाई हेरिरहनु भएको छ।” (श्रोत- बुखारी : ५०, मुस्लिम : ८)  

याद राख ! अल्लाहले तिम्रो उभिनु, बस्नु, कुरा गर्नु, ख्याल ठट्टा गर्नु आदि सम्पूर्ण क्रियाकलापहरुलाई राम्ररी  हेरिरहनु भएको छ। त्यसैले उहाँको अवज्ञा गर्ने प्रयास नगर। डर, त्रास तथा निराशको दलदलमा जीविका निर्वाह नगर, किनकि उहाँको माया र कृपा तिम्रो साथमा छ। आफूलाई एक्लो कहिल्यै नठान, किनकि उहाँ तिमीदेखि एकदम नजिक हुनुहुन्छ। उहाँले तिम्रो प्रत्यक्ष अप्रत्यक्ष सबै क्रियाकलापहरुलाई हेरिरहनु भएको छ, जान्दा जान्दै पाप गर्नु बुद्धिमानी होला ! यदि तिमी बाटो बिराउछौ वा अन्जानमा गल्ती गर्छौ भने आफ्नो पापको प्रायश्चित गर, उहाँले तिमीलाई क्षमादान दिनु हुनेछ।

अल्लाहमाथि आस्थाका केही फाइदाहरु-

  1. १) अल्लाहले आफ्ना भक्तहरुलाई प्रत्येक नराम्रा कुराहरुबाट जोगाउनु हुन्छ, उनीहरुलाई कष्टबाट मुक्त गर्नुहुन्छ र शत्रुहरुको षड्यन्त्रबाट सुरक्षित राख्नुहुन्छ। अल्लाहले भन्नु भएको छ… “अल्लाह नै आस्थावान भक्तहरुका प्रतिकारक हुन्।” (श्रोत- सूरह अल्-हज्ज : २२/३८)

  2. २) ईमानले नै सुखमय जीवन प्राप्त हुन्छ। अल्लाहले भन्नु भएको छ… “आस्थावान पुरुष र महिलामध्ये जसले सत्कर्म गर्छ, हामी उसलाई सुखमय जीवन यापन गराउने छौं।” (श्रोत- सूरह अन्-नहल : १६/९७)

  3. ३) ईमानले आत्मालाई अन्धविश्वास र अनावश्यक कुराहरूबाट पवित्र पार्छ। जो व्यक्ति वास्तवमा अल्लाहमाथि आस्था राख्दछ, उसका सम्पूर्ण मामिला अल्लाहसँग आवद्ध हुन्छ, किनभने उहाँ नै ब्रम्हाण्डका सृष्टिकर्ता र सत्य ईश्वर हुन्। यसले आस्थावानको मनोबललाई बलियो पार्छ, ऊ सृष्टिबाट भयभित हुँदैन, अन्धविश्वास र अनावश्यक कुराहरूबाट मुक्त हुन्छ।    

  4. ४) ईमानको ठूलो प्रतिफल… अल्लाहको प्यारो भक्त बन्नु, स्वर्गमा आफ्नो स्थान सुरक्षित पार्नु, सधैं रहने वरदान र पूर्ण माया प्राप्त गर्नु हो।

फरिश्ता (देवदूत) हरुमाथि आस्था राख्नु

फरिश्ताहरुमाथि आस्थाको अर्थ-

फरिश्ताहरुको अस्तित्वमाथि दृढतापूर्वक आस्था राख्नु, उनीहरु मानव तथा जिन्न बाहेक अदृश्य संसारका प्राणी हुन्। उनीहरु पवित्र एवम् प्रतिष्ठित भक्त हुन्, निरन्तर अल्लाहको भक्ति गरिरहेका छन्, अल्लाहका आदेशहरूलाई कार्यान्वयन गर्न सतर्क हुन्छन् र कहिल्यै पनि उहाँको अवज्ञा गर्दैनन्।

अल्लाहले भन्नु भएको छ… “उनीहरु अल्लाहका पवित्र एवम् प्रतिष्ठित भक्त हुन्, अल्लाहको आदेश अगाडि केही पनि भन्दैनन् र उहाँकै आदेशले मात्र कार्य गर्छन्।” (श्रोत- सूरह अल्-अंबिया : २१/२६-२७)

फरिश्ताहरुमाथि आस्था राख्नु ईमानका ६ वटा आधारहरुमध्ये एउटा आधार हो। अल्लाहले भन्नु भएको छ… “रसूल र आस्थावानहरुले आफ्ना पालनकर्ताको तर्फबाट अवतरित (चीज) माथि ईमान ल्याएका छन्। यिनीहरू सबै अल्लाह, उहाँका फरिश्ताहरु, ग्रन्थहरु र उहाँका रसूलहरुमाथि आस्थावान भए।” (श्रोत- सूरह अल्-बकरह : २/२८५)

रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले ईमानको बारेमा भन्नु भएको छ… “तिमी अल्लाह, उहाँका फरिश्ताहरु, किताबहरु, रसूलहरु, कयामत (महाप्रलय) को दिन र राम्रो वा नराम्रो भाग्यमाथि आस्था राख।” (श्रोत- मुस्लिम : ८)

फरिश्ताहरुमाथिको आस्थाले कुन विषय वस्तुलाई समेटेको छ?

  1. १) उनीहरुको अस्तित्वमाथि आस्था राख्नु… उनीहरु अल्लाहका सृष्टि हुन् भन्ने कुरामाथि विश्वास गर्नु, उनीहरु अवस्थित छन्, अल्लाहले उनीहरुलाई प्रकाशबाट सृष्टि गर्नु भएको छ । अल्लाहको भक्ति र आज्ञापालन गर्न प्रवृत्ति बनाई दिएका छन्।
  2. २) उनीहरुमध्ये जसको नाम थाहा छ, जस्तै… जिब्रील, त्यसमाथि पूर्ण रुपमा ईमान ल्याउनु र जसको नाम थाहा छैन उनीहरुमाथि संक्षेपमा ईमान ल्याउनु।
  3. ३) उनीहरुका विशेषताहरुमध्ये जे जति थाहा छ त्यति विश्वास गर्नु, जस्तै…

उनीहरु अदृश्य संसारका प्राणी हुन्। अल्लाहको उपासना गर्ने सृष्टि हुन्, अल्लाहमा पाइने गुण र शक्ति उनीहरूमा पाइदैनन् र उनीहरु अल्लाहको उपासनामा लिप्त छन्। अल्लाहले भन्नु भएको छ… “अल्लाहको हुकुमको अवज्ञा गर्दैनन् र जे आदेश दिइन्छ त्यसको पालना गर्दछन्।” (श्रोत- सूरह अत्-तहरीम : ६६/६)

उनीहरु प्रकाशबाट सृष्टि गरिएका हुन्। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “फरिश्ताहरु प्रकाशबाट सृष्टि गरिएका हुन्।” (श्रोत- मुस्लिम : २९९६)

उनीहरुका पखेटा छन्। अल्लाहले भन्नु भएको छ… “सम्पूर्ण प्रकारका प्रशंसाहरु अल्लाहकै लागि हुन्, जसले आकाशहरू र धरतीलाई सृष्टि गर्नु भएको छ, दुई-दुई, तीन-तीन र चार-चार पखेटा भएका फरिश्ताहरुलाई सन्देश पुर्याउन नियुक्त गर्नु भएको छ। उहाँ आफ्नो सृष्टिमा जे चाहनुहुन्छ वृद्धि गर्नुहुन्छ। वास्तवमा अल्लाह हरेक कार्यको सामर्थ्य राख्नुहुन्छ।” (श्रोत- सूरह फातिर: ३५/१)

  1. ४) अल्लाहको हुकुमले उनीहरु जे काम गर्छन् र जसको बारेमा हामीलाई जानकारी छ, त्यसमाथि विश्वास गर्नु, जस्तै…

अल्लाहको सन्देश (वह्य) पुर्याउने जिम्मेवारी 'जिब्रील' (अलैहिस्सलाम) लाई सुम्पिएको छ।

ज्यान लिने कार्यभार 'मलकुल्-मौत' र उसका सहयोगीहरुलाई सुम्पिएको छ।

भक्तहरुका राम्रा-नराम्रा क्रियाकलाप लेख्ने अनि सुरक्षित राख्ने जिम्मेवारी 'किरामन कातेबीन' लाई सुम्पिएको छ।

फरिश्ताहरुमाथि आस्थाका केही फाइदाहरु-

फरिश्ताहरुमाथिको आस्थाले आस्थावानहरुको जीवनमा ठूलो प्रभाव पर्दछ। तीमध्ये केही निम्न छन्…

  1. १) अल्लाहको महानता, अपार शक्ति र उहाँको पूर्ण अधिकारको ज्ञान हुन्छ। सृष्टिको श्रेष्ठताले सृष्टिकर्ताको महानता प्रकट हुन्छ, यसरी आस्थावानहरुको मनमा अल्लाहप्रतिको आदरमा वृद्धि हुन्छ, किनभने उहाँले पखेटा भएका फरिश्ताहरुलाई प्रकाशबाट सृष्टि गर्नु भएको छ।

  2. २) अल्लाहको उपासनामा अडिग रहने टेवा पुर्याउँछ। जसले फरिश्ताहरु उसका सबै क्रियाकलाप लेखिरहेका छन् भन्ने कुरामाथि आस्था रख्दछ, उसले खुल्लमखुल्ला वा लुकेर अल्लाहको अवज्ञा गर्दैन।

  3. ३) अल्लाहको उपासना गर्नको लागि धैर्य, आत्मा शान्ति र आफ्नोपनको आभास हुन्छ, किनकि यो विशाल दुनियाँमा करोडौं फरिश्ताहरु अल्लाहको उपासनामा तन, मन र वचनले सक्रिय छन्।

  4. ४) मानवमाथि भएको कृपामाथि अल्लाहको कृतज्ञता व्यक्त गर्नु, किनभने केही फरिश्तालाई मानवको सुरक्षामा तैनाथ गरिएका छन्।

किताबहरुमाथि आस्था राख्नु

किताबहरुमाथि आस्थाको अर्थ-

कुरआनको लेखन कार्य पूर्ण दक्षताका साथ गरिन्छ।

अल्लाहले भक्तहरुका लागि आफ्ना रसूल (सन्देष्टा) हरुमाथि किताबहरु अवतरण गर्नु भएको छ भन्ने कुरामाथि दृढतापूर्वक आस्था राख्नु। यी ग्रन्थहरु उहाँका वाणी र वचन हुन्। यसमा  ज्ञानको ज्योति, सत्य कुरा, लोक र परलोकमा प्राप्त हुने सफलताका रहस्यहरू छन्।

किताबहरुमाथि आस्था राख्नु ईमानको एउटा आधार हो। अल्लाहले भन्नु भएको छ… “हे ईमानवालाहरु हो ! अल्लाह, उहाँका रसूल र उहाँको रसूल (मुहम्मद) माथि अवतरित किताब र जुन ग्रन्थहरु यो भन्दा पूर्व अवतरित भयो ती सबैमाथि आस्था राख।” (श्रोत- सूरह अन्-निसा : ४/१३६)

अल्लाहले आफू, आफ्नो रसूल (मुहम्मद), उहाँमाथि अवतरित किताब; कुरआन र यस भन्दा पूर्व अवतरित सम्पूर्ण ग्रन्थहरुमाथि ईमान ल्याउने आदेश दिनु भएको छ।

रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले ईमानको बारेमा भन्नु भएको छ… “तिमी अल्लाह, उहाँका फरिश्ताहरु, किताबहरु, रसूलहरु, कयामत (महाप्रलय) को दिन र राम्रो वा नराम्रो भाग्यमाथि आस्था राख।” (श्रोत- मुस्लिम : ८) 

किताबहरुमाथिको आस्थाले कुन विषय वस्तुलाई समेटेको छ?

  1. १) अल्लाहद्वारा अवतरित हो भन्ने आस्था राख्नु।
  2. २) अल्लाहको वाणी हो भन्ने आस्था राख्नु।
  3. ३) अल्लाहका किताबहरुमाथि आस्था राख्नु, जसतै…  कुरआन हाम्रो सन्देष्टा मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) माथि अवतरित भयो। तौरात मूसा (अलैहिस्सलाम) माथि र इन्जील ईसा (अलैहिस्सलाम) माथि अवतरित भयो।
  4. ४) त्यसका प्रमाणित कुराहरुलाई सत्य मान्नु।

कुरआनका विशिष्ट गुण र विशेषताहरु-

कुरआन हाम्रो सन्देष्टा मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) माथि अवतरित अल्लाहको वाणी हो। आस्थावानहरु उक्त ग्रन्थलाई धेरै सम्मान गर्दछन्, त्यसैको निर्देशन अनुसार जीवन यापन गर्दछन्, दिनरात त्यसैको पाठ र मनन् गर्नमा सक्रिय रहन्छन्।

यो कुरआन हाम्रो पथप्रदर्शक र मृत्युपछिको जीवनमा सफलता प्राप्तिको साधन हो।

कुरआनका छुट्टै पहिचान, गुण र अनेक विशेषताहरु छन्, जसले गर्दा यो अघिल्ला ग्रन्थहरू भन्दा भिन्न छ, जस्तै…

  1. १) कुरआन ईश्वरीय ग्रन्थहरुको सार हो। अघिल्ला ग्रन्थहरुमा रहेका इकेश्वरवादलाई समर्थन र पुष्टि गर्दछ।

अल्लाहले भन्नु भएको छ– “हामीले सत्यका साथ यस किताबलाई तिमीमाथि अवतरण गर्यौं जसले अघिका ग्रन्थहरुको पुष्टि गर्दछ र तिनीहरुको संरक्षक हो।” (श्रोत- सूरह अल्-माइदा : ५/४८)

अघिका ग्रन्थहरुको पुष्टिको अर्थ- अघिल्ला ग्रन्थहरुमा रहेका आस्था र सूचनाहरुको समर्थन गर्दछ। त्यसको संरक्षकको अभिप्राय- अघिका ग्रन्थहरुको संरक्षक र गवाह हुनु हो।

  1. २) विभिन्न भाषा-भाषीमा विभाजित भएका सम्पूर्ण समुदायहरुले कुरआनलाई स्वीकार गर्नु पर्छ र यसको अभिलाषा अनुसार कर्म गर्नु पर्छ। यद्यपि उनीहरु कुरआन अवतरण भएको युगदेखि जति पछि जन्म लिए पनि। यसको विपरित अघिल्ला ग्रन्थहरु केही सम्प्रदाय, खास भाषा तथा सीमित अवधिको लागि मात्र थिए। अल्लाहले रसूल (सल्लल्लाहु अलैहि व सल्लम) लाई निर्देशन गर्दै भन्नु भएको छ– “ममाथि यो कुरआन वह्य (प्रकाशना) गरिएको छ, मलाई तिमीहरु र जो जसकहाँ पुग्छ सबैलाई सचेत गर्ने आदेश दिएको छ।” (श्रोत- सूरह अल्-अन्आम : ६/१९)
  2. ३) अल्लाहले स्वयम् यसको सुरक्षाको जिम्मा लिनु भएको छ। त्यसैले यसमा अहिलेसम्म फेरबदल भएको छैन र हुने पनि छैन। अल्लाहले भन्नु भएको छ… “हामीले कुरआन अवतरण गर्यौं र हामी नै त्यसको सुरक्षा गर्नेछौं।” (श्रोत- सूरह अल्-हिज्र : १५/९) त्यसैले यसमा रहेका सम्पूर्ण कुराहरु सत्य छन् र यसको पुष्टि गर्नु अनिवार्य छ।

IslamNepal.com

Go to top