सलाहका लागि चाहिने शर्तहरु के के हुन्?

  1. १. अपवित्रता तथा फोहोरबाट पवित्र हुनु- यसको  व्याख्या अगाडि भैसकेको छ।
  2. २. पर्दा गर्नु (अङ्गहरुलाई छोप्नु)-

अङ्गहरुलाई छोप्नको लागि छोटो, कसिलो, पातलो र पारदर्शी लुगा होइन, बरु पूरै शरीरलाई छोप्ने खुकुलो र बाक्लो कपडा लगाउनु पर्दछ।

पर्दा तीन प्रकारका छन्-

महिलाको पर्दा- बालिग महिलाले सलाह पढ्दा अनुहार र हत्केलाबाहेक शिरदेखि पाऊसम्म पूरै शरीरलाई छोप्नु पर्छ।

बच्चाको पर्दा- मात्र गुप्ताङ्गहरुलाई छोप्नु पर्याप्त छ।

पुरुषको पर्दा- वयस्क पुरुषले नाईटोदेखि घुँडासम्म छोप्नु पर्छ।

अल्लाहले भन्नु भएको छ… “हे आदमका सन्तान हो ! तिमीहरू हरेक सलाहको बेलामा उत्तम श्रृङ्गार र राम्रो वस्त्र धारण गर।” (श्रोत- सूरह अल्-आ'राफ : ७/३१) गुप्ताङ्गहरुलाई छोप्नु सबैभन्दा कम श्रृङ्गार हो।

  1. ३. किब्लातिर मुख गर्नु-

अल्लाहले भन्नु भएको छ… “तिमी जहाँसुकैबाट निस्के पनि सलाहमा आफ्नो अनुहार मस्जिदे हराम (काबा) तिर फर्काऊ।” (श्रोत- सूरह अल्-बकरह : २/१४९)

  • किब्ला- पवित्र काबा नै मुस्लिमहरुको किब्ला हो। यसलाई सन्देष्टाहरुको पुर्खा इब्राहीम (अलैहिस्सलाम) ले आफ्नै हातले निर्माण गर्नु भएको थियो। सन्देष्टाहरुले त्यही पवित्र काबाको हज्ज गरे, तर काबामा न फाइदा पुर्याउने शक्ति छ, न हानि पुर्याउने नै। अल्लाहले किब्लातर्फ मुख गरेर सलाह पढ्न आदेश दिनु भएको छ, ताकि विश्वकै सम्पूर्ण मुस्लिमहरु एउटा केन्द्रविन्दुमा केन्द्रित हुन सकौं। त्यसैले हामी काबातिर अनुहार गरेर अल्लाहको उपासना गर्छौं।
  • काबालाई देखिरहेको छ भने त्यसै तर्फ मुख गर्नु अनिवार्य छ। यदि टाढा छ भने मक्कातिर अनुहार गर्नु नै पर्याप्त हुन्छ। अलिकति यताउता भएमा केही फरक पर्दैन। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “पूर्व र पश्चिमको बीचमा किब्ला छ।” (श्रोत- तिर्मिजी : ३४२)
  • यदि रोग वा अशक्तले गर्दा किब्लातिर मुख गर्न असमर्थ छ भने उसले किब्लातिर मुख गर्नु पर्दैन, किनभने अशक्तलाई अनिवार्य कुराहरु पनि माफ हुन्छन्। अल्लाहले भन्नु भएको छ… “यथासम्भव अल्लाहसित डराऊ।” (श्रोत- सुराह तगाबुन : ६४/१६)
  1. ४. सलाहको समय हुनु-

समय हुनु सलाहको लागि शर्त नै हो। त्यसैले समय भन्दा पूर्व सलाह पढ्नु वा समयदेखि ढिलो गर्नु हुँदैन। अल्लाहले भन्नु भएको छ… “निश्चय नै आस्थावानहरूमाथि समयको पालनाका साथ सलाह अनिवार्य गरिएको छ।” (श्रोत- सूरह अन्-निसा : ४/१०३)

समय सम्बन्धी केही महत्वपूर्ण कुराहरू-

  • समयको शुरुवातमा सलाह पढ्नु बेस हुन्छ।
  • समयमै अनिवार्य रुपमा सलाह पढ्नु पर्दछ, नत्र पाप लाग्छ।
  • निन्द्रा वा भूलचूकले गर्दा सलाह छोड्यो भने सम्झना हुने बित्तिकै ढिलो नगरिकन सलाह पढ्नु पर्दछ।

पाँच अनिवार्य सलाहहरु र त्यसका समयहरु

अल्लाहले मुस्लिमहरुमाथि दिनरातमा पाँच चोटि सलाह (नमाज) पढ्न अनिवार्य गर्नु भएको छ। यो इस्लामको ठूलो र अति महत्वपूर्ण आधार हो। यसको लागि निम्न लिखित समय तालिका तोकिएको छ…

फज्रको सलाह- यो दुई रकातको सलाह हो। प्रात: काल (फज्रको अजान) देखि यसको समय प्रारम्भ हुन्छ र सूर्य उदाउनुसम्म रहन्छ।

जुहरको सलाह- यो चार रकातको सलाह हो। यसको समय अपरान्हमा सूर्य ढल्केदेखि कुनै पनि वस्तुको छायाँ उसको बराबर हुन्जेलसम्म रहन्छ।

अस्रको सलाह- यो चार रकातको सलाह हो। यसको समय जुहरको समय समाप्त भएदेखि सूर्यास्तसम्म रहन्छ। सूर्यको ताप धमिलो तथा पहेंलो हुनु पूर्व नै यसलाई पढिसक्नु पर्छ।

मग्रिबको सलाह- यो तीन रकातको सलाह हो। यसको समय सूर्यास्तदेखि लिएर गोधुली साँझसम्म रहन्छ।

ईशाको सलाह- यो चार रकातको सलाह हो। यसको समय मग्रिबको समय समाप्त भएदेखि मध्य रातसम्म रहन्छ। कारणवश यसलाई प्रात: काल (फज्रको अजान) सम्म पढ्न सकिन्छ।

सलाह पढ्ने ठाउँ

इस्लामले सामुहिक रुपमा जमातका साथ सलाह पढ्ने आदेश दिएको छ र यसको लागि मस्जिदलाई प्राथमिकता दिएको छ। यसो गर्दा एक आपसमा भाइचारा, माया, प्रेम, स्नेह तथा सदभाव पलाउँछ। एक अर्कालाई चिन्न, आपसमा दु:ख-पीडा बाँड्न अवसर पाइन्छ। त्यसैले जमातको सलाहलाई एक्लै पढेको सलाह भन्दा बढी पुण्य प्रदान गरिएको छ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “एक्लै नमाज पढ्नु भन्दा जमातका साथ पढ्दा २७ गुणा बढी सवाब (पुण्य) प्राप्त हुन्छ।” (श्रोत- बुखारी  : ६१९,  मुस्लिम : ६५०, अहमद : ५९२१)

अल्लाहले आफ्नो अपार कृपाले हरेक (पवित्र) ठाउँमा सलाह पढ्न वैध गर्नु भएको छ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “अल्लाहले सम्पूर्ण धरतीलाई मेरो र मेरो अनुयायीको निम्ति मस्जिद र पवित्र बनाउनु भएको छ। त्यसैले जुनसुकै ठाउँमा सलाहको समय हुन्छ, त्यही सलाह पढ।” (श्रोत- बुखारी  : ३२८, मुस्लिम : ५२१)

सलाह पढ्ने ठाउँ सम्बन्धी नियमहरु-

इस्लामले सलाहको लागि ठाउँ पवित्र हुनुपर्छ भन्ने शर्त राखेको छ। अल्लाहले भन्नु भएको छ… “हामीले इब्राहीम र इस्माईलसित हाम्रो घरलाई तवाफ, एतिकाफ (आफूलाई मस्जिदमा सीमित राखेर गरिने एक प्रकारको उपासना), रुकू र सज्दा गर्नेहरूका लागि पवित्र राख्न वचन लियौं।” (श्रोत- सूरह अल्-बकरह : २/१२५) स्मरण रहोस् ! फोहोर नभएको जुनसुकै ठाउँमा सलाह पढ्न सकिन्छ, किनभने धरती वास्तवमा पवित्र नै हुन्छ।

सलाह पढ्ने ठाउँमा निम्न कुराहरुमा ध्यान पुर्याउनु पर्छ-

  1. १) कुनै ठाउँमा सलाह पढेर अरु कसैलाई दु:ख नदिनु, जस्तै… सडकको पेटी, सार्वजनिक बाटो र निषेधित क्षेत्रमा सलाह पढेर बाटो जाम गर्नु इत्यादि। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “जानेर वा नजानेर कसैलाई दु:ख दिनु हुँदैन।” (श्रोत- इब्ने माजा : २३४०, अहमद : २८६५)
  2. २) सलाह पढ्ने ठाउँमा भक्तलाई दिक्क पार्ने बाजा गाजाको आवाज वा ध्यान आकर्षित गर्ने कुनै तस्वीर नहोस्।
  3. ३) यस्तो ठाउँ नहोस् जहाँ सलाह पढ्दा मानिस ख्याल ठट्टाको पात्र बनोस्, जस्तै… जड्याहा र भेदभाव राख्नेहरु भएको ठाउँ। अल्लाहले काफिरहरुको देवीदेवतालाई गाली दिनुबाट यसै कारणले रोक्नु भएको छ कि तिनीहरु अज्ञानतावश अल्लाहलाई गाली नगरुन्। अल्लाहले भन्नु भएको छ… “यी अवज्ञाकारीहरुले अल्लाह बाहेक जसलाई पूज्य ठान्छन् त्यसलाई गाली नगर अन्यथा तिनीहरुले पनि सीमा उल्लंघन गर्दै अज्ञानतावश अल्लाहलाई गाली गर्ने छन्।” (श्रोत- सूरह अल्-अन्आम : ६/१०८)
  4. ४) त्यो ठाउँ अल्लाहको अवज्ञाको लागि नबनाइएको होस्, जस्तै… नाचघर, डिस्को, बियर, बार इत्यादि। यस्ता ठाउँहरुमा सलाह पढ्नु हुँदैन।

सलाह पढ्ने ठाँऊ

के तपाई जमातको साथ मस्जिदमा सलाह पढ्न सक्नु हुन्छ?
हो-
 पक्कै पनि पुरुषले मस्जिदमा गएर जमातको साथमा सलाह पढ्नु पर्छ। यो अल्लाहको नजरमा महान र प्रिय सत्कर्म हो। महिला पनि मस्जिदमा गएर सलाह पढ्न सक्छिन्।
होइन-
 मस्जिदमा पढ्न सक्नु भएन भने के अन्य ठाउँ अपवित्र हो र?
हो-
 अपवित्र ठाउँमा सलाह पढ्नु अवैध (हराम) छ। अल्लाहले सलाहको लागि पवित्रतालाई अनिवार्य गर्नु भएको छ।
होइन-
होइन… यदि ठाउँ पवित्र छ भने त्यसमा सलाह पढ्दा अरुलाई अप्ठ्यारो त हुँदैन? जस्तै… सार्वजनिक बाटो। 
हो-
 मानिसलाई दु:ख दिनु वा सलाह पढेर बाटोलाई सांघुरो पार्नु हराम हो, त्यसैले अर्को ठाउँ रोज्नुहोस्।
होइन-
होइन… के सलाह पढ्ने ठाउँमा मानिसको ध्यान अर्कोतिर अल्झाउने कुनै तस्वीर वा ठूलो आवाज त छैन?
हो-
 ध्यान अल्झाउने सम्पूर्ण कुराबाट टाढा भएर सलाह पढ्नु पर्छ।
होइन-
 अल्लाहले आफ्नो कृपाले सम्पूर्ण ठाउँलाई सलाह पढ्न योग्य बनाउनु भएको छ।

IslamNepal.com

Go to top